भक्तपुर । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यूएस) कार्यान्वयनका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
मन्त्रालयको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा संघको सभाहलमा आइतबार सञ्चालन भएको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रदेश सचिव गैरेले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली प्रभावकारी रूपमा कार्यान्वयनका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरूसँग आग्रह गरेका हुन् ।
देशमा सीप भएर पनि बिना प्रमाणपत्र काम गरिरहेका धेरै श्रमिक, मजदुरहरू रहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई प्रमाण पत्र उपलब्ध गराउने र थप तालिमको व्यवस्था मिलाई दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ सामाजिक विकास मन्त्रालयले काम गरिरहेको बताए । व्यावसायिक क्षेत्रमा आवश्यकता अनुसारका जनशक्ति उत्पादनका लागि सरकारी निकाय र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।