काठमाडौँ । राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले विश्व शान्ति स्थापनार्थ नेपालले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको चौथो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलसँग भेट गर्दै ल्याक्रोइक्सले विश्व शान्ति स्थापनार्थ नेपालको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेका हुन् ।
‘युएन पुलिस समिटमा नेपाली प्रतिनिधिमण्डलसँग उत्कृष्ट छलफल भयो । राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रसंघीय प्रहरीमा नेपालको महत्त्वपूर्ण योगदानका लागि प्रशंसा गर्ने अवसर प्राप्त गरेकोमा आभारी छु’भेटपछि ट्विट गर्दै ल्याक्रोइक्सले भनेका छन् ।
गृह सचिव एकनारायण अर्यालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ल्याक्रोइक्ससँगको भेट नेपालका लागि महत्त्वपूर्ण रहेको जनाएको छ । प्रतिनिधि मण्डलले डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका उपमहासचिव अतुल खरेसँग पनि भेट गरेको छ । दुवै जनासँगको भेटमा राष्ट्रसंघीय प्रहरीमा सहभागितासँगै शान्ति स्थापनार्थ नेपाल र राष्ट्रसंघबीचको सहयोगलाई थप सुदृढ बनाउने बताएको थियो ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा जारी युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सम्बोधन गर्दै गृह सचिव अर्यालले राष्ट्रसंघीय प्रहरीमार्फत विश्व शान्ति र सुरक्षामा योगदानका लागि नेपाल निरन्तर प्रतिबद्ध रहँदै आएको बताएका छन् । उच्चतम प्रविधिको विकासमा जोड दिएका द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सम्बन्धित समाचार : मिथ्या सूचनाले जोखिम र असुरक्षा बढाउँछ : गृह सचिव अर्याल
नेपालले वर्षौँदेखि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ, जहाँ हजारौँ नेपाली शान्ति सैनिकहरूले विभिन्न चुनौतीपूर्ण मिसनहरूमा सहभागी भएर शान्ति स्थापनार्थ काम गर्दै आएका छन् ।