काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ ।
महानगरकी उपप्रमुख मञ्जली शाक्यले सोमबार प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । ललितपुरले चालु आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यसमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो ।
विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन भएको छ । यस्तै अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्च तर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ।
वडास्तरीय कार्यक्रम र विषय क्षेत्रगत कार्यक्रम पूर्वाधार विकास बाहेकका लागि चालु आर्थिक वर्षमा विनियोजन भए अनुसार नै हाराहारीमा आगामी वर्षका लागि बजेट प्रस्ताव गरिएको छ । विषय क्षेत्रगत कार्यक्रम अन्तर्गत पूर्वाधार विकास तर्फ १५ करोड थप गरी ४५ करोड ६२ लाख कायम हुने गरी बजेट छुटयाईएको छ ।
पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् ।