काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । सोमबार अपराह्नदेखि कम्पनीको जीएसएम मोबाइल सेवामा एक्कासि समस्या आएको हो ।
टेलिकमका पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूमा कल गर्दा नलाग्ने, लागि हाले पनि आवाज नसुनिने र काटिने जस्ता समस्या देखिएका छन् । यस्तै मोबाइल डेटा सेवा समेत प्रभावित भएको थियो ।
कम्पनीका प्रवक्ता हरि ढकालसँग यसबारे कुरा गर्दा नेटवर्क ट्राफिक कन्जेन्सनका कारण समस्या आएको हुन सक्ने बताए । ‘यो भनेको एकै पटक धेरै प्रयोगकर्ताले नेटवर्क प्रयोग गर्दा आइपर्न सक्ने समस्या हो’ प्रवक्ता ढकाले प्रशासनसँग भने ।
टेलिकमका उपकरणहरू पुराना भएका कारण पनि पछिल्लो समय यस्ता समस्या दोहोरिई रहेको उनको भनाई छ ।