काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-७ का वडाध्यक्ष र वडासचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
वडाध्यक्ष रमेश खरेल र वडा सचिव राम प्रसाद बडालविरुद्ध अख्तियारमा उजुरी परेको हो । ज्येष्ठ नागरिकबापतको सामाजिक सुरक्षा भत्ता आफूखुसी दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै छानबिन र अनुसन्धानका लागि सोही वडाकी ७६ वर्षीया विष्णुलक्ष्मी खरेलले अख्तियारमा उजुरी हालेकी हुन् ।
आर्थिक वर्ष २०७६/०७७ साउन महिनादेखि नियमित रूपमा पाउँदै आएको वृद्ध भत्ता आ.व. २०८० साउनदेखि नपाएको विषयमा गत असोजमै गुनासो गर्दा रोकिएको वृद्ध भत्ता रकम एकमुष्ट आउने भन्दै अलमल्याउँदै आएपछि उनले अख्तियारमा उजुरी दिएकी हुन् । गत साउनमा वृद्ध भत्ता नवीकरणका लागि श्रीमान् (पद्म भक्त खरेल) र श्रीमती दुवैको कागजात बुझाए पनि श्रीमान्को वृद्ध भत्ता आएको तर आफ्नो नआएपछि श्रीमती खरेलले अख्तियारमा उजुरी हालेकी हुन् ।
वडाध्यक्ष रमेश खरेलले विष्णुलक्ष्मीसहित पालिकाका ४६ जना वृद्धको नवीकरण नभएको जानकारी दिए । नवीकरण नभएकै कारण वृद्ध भत्ता रोकिएको उनको भनाइ छ । ‘पहिले पञ्जीकरण शाखाले सबैको नवीकरण भएको जनाएको थियो । वेबसाइटमा पनि नवीकरण भएको देखिएको थियो । तर, पछि भुम्लुको ४६ जनाको नवीकरण नभएको र हाम्रो ७ नम्बर वडाको पनि उहाँ एक जनाको नवीकरण नभएको गुनासो आयो,’ उनले भने, ‘हामीले अनलाइनबाट सबैको नवीकरण गराएका थियौँ । उहाँको कसरी छुट्यो ? यसबारे पञ्जीकरण शाखामा कुरा गरेका छौँ । भत्ता दिलाउने प्रयास गरेको छु ।’
वडा सचिव बडालले गाउँमा नबस्नेहरूको नवीकरणमा समस्या हुने गरेको जानकारी दिए । उनले भने, ‘कानुनमै वर्षको एक पटक जीवित रहेको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ । तर, गाउँ बाहिर (काठमाडौँ, विदेश) बस्नेहरूले हेलचेक्र्याइँ गर्नु हुन्छ । उहाँको पनि नवीकरण नगरेको कारण समस्या भएको हो । फागुनमा उहाँको निवेदन आएपछि चैतको भत्ता खातामा गएको छ । वैशाख र जेठको पनि पठाउने तयारी छ ।’ अहिले सामाजिक सुरक्षा भत्ता व्यक्तिको खातामै जाने हुनाले जनप्रतिनिधि र कर्मचारीहरूले कुनै अनियमितता गर्न नमिल्ने बडालले बताए । ‘उहाँले अख्तियारमा उजुरी हाल्नु भएछ, हामीले कुनै अनियमितता गरेका छैनौँ । उजुरीले खासै फरक पर्दैन,’ उनले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराईका अनुसार विष्णुलक्ष्मी खरेलले नवीकरणका लागि समयमा निवेदन नदिएको कारण वृद्ध भत्ता रोकिएको हो । ‘आर्थिक वर्षको सुरुमै सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि निवेदन आव्हान गर्दछौँ । गत वर्ष साउनमा नवीकरण गर्ने समयमा उहाँहरू अमेरिकामा हुनुहुँदो रहेछ । उहाँकै कारण नवीकरण भएन । आएपछि निवेदन दिनु भएको छ । नवीकरण पछिको भत्ता निरन्तर खातामा गएको छ,’ उनले भने, ‘यसमा कर्मचारीको गल्ती हो जस्तो लाग्दैन ।’
