काठमाडौँ । सीमापासमा किर्ते हस्ताक्षर गर्ने एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । चीनसँगको सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमापासमा हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर तीन जनालाई उपलब्ध गराएपछि ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीका अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लामै कार्यरत कर्मचारी बाँचबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासनमा कार्यालय सहयोगीका रूपमा कार्यरत बोहरालाई सीमापासमा सहायक प्रजिअ सुवेदीको किर्ते हस्ताक्षर गरी सीमापास दिएको प्रहरीले जनाएको छ ।
चीनको ताक्लाकोट पठाउने प्रयोजनका लागि जारी गरिने सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले हस्ताक्षर गर्दै आएका थिए ।