काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनलाइनमार्फत जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका-६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर-६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया-१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका-१७ का २९ वर्षीय रामु गिरी, सैनामैना-८ का २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँका २९ वर्षीय सजल श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइनमा जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा सामाजिक सञ्जालमार्फत् जुवा खेलाई करिब दुई महिनामा २४ करोडभन्दा बढी रकम कारोबार गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।