रुखले जन्माएको विश्वास « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रुखले जन्माएको विश्वास


१ असार २०८१, शनिबार


भनिन्छ विश्वमा  ६० हजार प्रजातिका रुख पाइन्छन् । अहिले पनि विश्वमा २५ खर्व भन्दा बढी रुखहरू होलान् । सायद रुखकै कारण मानव जीवन सार्थक भए होला । ब्राजिल कोलम्बिया र इण्डोनेशियामा नै सबै भन्दा बढी प्रजातिका रुख पाइन्छ । मानव सभ्यता शुरु हुनु भन्दा त अहिले ४६ प्रतिशतले रुखको कमी भयो पनि भनिन्छ । जहाँ बढी वर्षा हुन्छ त्यहाँ रुख पनि बढी हुँदो रहेछ । रुखहरूले नाइट्रोजन डाइअक्साई र सल्फरडाइ अक्साइड जस्ता ग्यासलाई समेत फिल्टर गर्न सक्दो रहेछ । मानिसको आयु सय डेढ सय वर्षसम्म बाँच्न सक्दछ भने अहिले पनि क्यालिफोर्नियामा ८ हजार ४ सय ५० वर्ष पुरानो रुख छ भनिन्छ । रुख तनाव कम गर्न , रुख उपचार गर्न , रुख प्रदूषण कम गर्न , रुख मानव जीवनलाई सार्थक बनाउन महत्त्वपूर्ण छ , रहनेछ ।

जब म क्यानडा प्रवेश गरे तब एउटा प्रतीक सबै घरमा भेट्न पुगे त्यो हो रुख । बसोबास क्षेत्रमा कसैले घर बनाइ हाल्यो भने उसको घरको अगाडि एउटा रुख रोप्नै पर्ने नियम रहेछ । सामान्यतया घरको अगाडिको रुखले त्यो घर कति वर्ष पुरानो हो भन्नेसम्मको जानकारी गराउँदो रहेछ । घरका अगाडिका रुखको मैले खासै चासो राखेको त थिइन तर सबै घरमा रुख देख्न थाले पछि मलाइ एउटा जिज्ञासा पलाइ हाल्यो । यसलाई अलि गम्भीर रूपले विचार गर्न पुगे । सपना देख्नेले भन्दा सपना देखाउनेले नै संसार देखाउन सक्छ भन्ने मैले महसुस गरेको छु । संसार देख्नेले के देख्छन् थाहा छैन तर संसार देखाउनेले जिउन सिकाउँछन् । हिँड्न सिकाउँछन् । बोल्न सिकाउँछन् । संस्कार सिकाउँछन् । संस्कृति सिकाउँछन् । एउटा विकसित मुलुकले गर्ने कार्यले हाम्रो जस्तो मुलुकलाई अघि बढ्न केही खुराक हुन सक्छ यो अर्को पाटो पनि हो । 

क्यानडा पृथ्वीको उत्तरी ध्रुवमा पर्ने भएकोले त्यहाँ प्रशस्त मात्रामा कोणधारी जङ्गल छ । हिउँ परिरहने स्थानमा रुखका पातहरू माथितिर चुच्चो परेका हुनाले नै तिनीहरूलाई कोणधारी भनिएको होला । त्यहाँ पनि ठुला र अग्ला रुखहरू मात्र नभई पोथ्रा र झाडी मात्र पाइने पनि छन । जुन हाम्रो देशमा ३३०० मिटर भन्दा माथिको भूभागमा पाइने गर्दछ । क्यानडामा पनि जङ्गलमा कहिले कहीँ महिनौँ दिनसम्म आगो निभाउन सकिँदैन बढी नै हुन थाल्यो भने कृतिम वर्षा गराएर भए पनि नियन्त्रण गर्दा रहेछन् । रुख जोगाउनकै लागी पनि उनीहरूले उत्तर पूर्वी क्यानडाको न्यु ब्रन्सविक राज्यमा संसारकै ठुलो बन्चरो निर्माण गरेका छन । उनीहरूले जङ्गल संरक्षणको लागी गरेको यो सानो उदाहरण हो ।

रुख जोगाउन विभिन्न मुलुकले विभिन्न प्रकारको नीतिहरू अवलम्बन गरेको देख्न सकिन्छ । भारतको मध्ये प्रदेशमा एक जना व्यक्तिले दुई वटा रुख काट्दा उसलाई २ करोडको जरिवाना तोकिएको रहेछ । त्यही मुद्दाको सिलसिलामा एउटा रुखले कति लाभ दिँदो रहेछ भन्ने अनुसन्धान गरेका छन । उनीहरूका अनुसार एउटा रुखले ५० वर्षमा ५२ लाख बराबरको अमूर्त लाभ दिन्छ । सबैभन्दा बढी वातावरण प्रदूषण नियन्त्रण त्यस पश्चात् भूक्षय नियन्त्रण र माटोको शुद्धीकरण , अक्सिजन आपूर्ति र पानी शुद्धीकरणको समेत हिसाब गरेर भारतको मध्य प्रदेश बन विभागका कर्मचारीले रुखबाट पाइने मापन गर्न सकिने र नसकिने दुवै फाइदाको हिसाब गरेर यसको मूल्य निकालेका रहेछन् । उनीहरूका अनुसार जीवनभरमा एउटा रुखले ६० लाख बराबरको लाभ मानिसलाई दिन्छ भने २ लाख बराबरको प्रत्यक्ष लाभ दिन्छ भन्दछन् । उनीहरूले एउटा रुखको आयुलाई हिसाब गरेर ७४५०० ले गुणन गर्‍यो भने त्यसको लाभ कति हो भनेर विज्ञहरूले स्वीकार गरेका रहेछन् । हाम्रो प्रकृतिमा अनुपम चिजहरू छन । प्राकृतिक चिजहरूलाई जोगाउन सक्यौ भने मात्रै पनि जीवनको सार्थकता हुन सक्दछ ।

हाम्रो देशमा अनुपम खालका रुखहरू नभएका होइनन् । बहुगुणी बहु उपकारी रुखहरू पनि छन । श्रीखण्ड, बोधिवृक्ष, लोट सल्ला, रुद्राक्ष, बर, पिपल, स्वामी, भोजपत्र, धुपी , देवदार , गुराँस, कटुस, सुनगाभा ,साल हर्रो बर्रो अमला बाँझ जस्ता रुखहरूको आफ्नै महत्त्व छ ।

क्यानडाको सबै घरको अगाडि मेपलको रुखहरू देख्न सक्दछौ । हुन त मेपलका रुखहरू धेरै किसिमका छन । कति बागवानीका लागी प्रयोग भएका छन भने कति रुखहरू बलियो काठको रूपमा पनि प्रयोग गरिन्छ । साथै मेपलको चोपबाट स्वादिष्ट सिरप बनाउने गरिन्छ । खास गरी उत्तरी अमेरिका र क्यानडामा यस प्रकारका रुखहरू पाउन सकिन्छ । मेपलको चोपबाट बनेको सिरपहरूलाई बेकरी उद्योगहरूमा पनि प्रयोग गरिँदो रहेछ ।

रुख रोप्ने हुर्काउने चलन धेरै लामो इतिहास हिन्दु धर्ममा पनि पाइन्छ । हामी कहाँ पिपलको रुखलाई धार्मिक दृष्टिकोणले पनि हेर्ने गरिन्छ । पिपलको रुखलाई विष्णुको अवतारको रूपमा पनि लिने गर्दछन् । साथै कृष्णले पनि पिपललाई आफ्नो रूप भनेका रहेछन् । पिपलको रुखबाट अक्सिजन प्राप्ति हुने वैज्ञानिक दृष्टिकोण पनि छ । पिपलको रुखले गर्मीमा शीतलता र जाडोमा तातो हावा फ्याँक्ने गर्दछ । यिनै धार्मिक दृष्टिकोणले पनि पिपलको रुखमा शनिवारको दिन पानी चढाउने, दियो बाल्ने तेल चढाउने डोरी बाँध्ने आदि धार्मिक विश्वासका साथ गर्ने गर्दछन् । त्यस्तै सालको रुखलाई भगवान् विष्णुले मन पर्ने रुखको रूपमा लिने गर्दछन् ।

भनिन्छ, गौतम बुद्धलाई माया देवीले सालकै रुख मुनी सालकै हाँगा समातेर जन्म दिएकी थिइन । उनले जन्म दिँदा ४ वटा सालका रुखलाई ओछ्यान बनाइएकोमा एकै छिनमा ती रुखहरू सेतो भएर विलीन भएको किम्बदन्ती छ । सालका रुखहरूलाई घर बनाउन अत्यधिक मात्रामा प्रयोग गर्ने गरिन्छ । हाम्रा धार्मिक अनुष्ठानहरूमा पनि पञ्चपलको रूपमा बर पिपल स्वामीका पात र अन्य पातहरूलाई तोरणमा राख्ने चलन अद्यापि छ । बेलको पात शिवले मन पराउँछन् । श्रीखण्डको चन्दन हामीले निधारमा लेपन गर्दछौ । चाइनिजहरू रातो श्रीखण्डलाई घरको चौकोष वा महत्त्वपूर्ण स्थानमा मिलाएर राख्ने गर्दछन् । शुभ फल प्राप्तिको लागी यसलाई धार्मिक महत्त्व दिएका होलान् । बर, पिपल र स्वामीको रुख लगाउने चौतारो छिन्ने र तिनीहरूको विवाह गराइदिने हिन्दु संस्कृतिको अनौठो प्रचलनलाई हेर्दा रुख प्रतिको विश्वासलाई लिन सकिन्छ । हाम्रा पानीका मुलको छेउमा रुखहरू रहने र ती रुखहरू सबैले संरक्षण गर्न कै लागी देवी देवताको प्रतिरूपको रूपमा सम्झाउने हाम्रो संस्कृति निकै वैभवशाली छ । 

क्यानडामा मेपललाई सिरफ बनाउन होस वा घर बनाउन पनि अत्यधिक मात्रामा प्रयोग गर्दा रहेछन् । साथै फर्निचर उद्योगमा पनि अत्यधिक मात्रामा प्रयोग गर्दा रहेछन् । कुनै कुनै मेपल झाडी टाइपको हुनाले बागवानीको रूपमा पनि प्रयोग गर्दा रहेछन् । शरद ऋतुमा यसका पातहरू रङ्गिन प्रकारले झर्ने भएको हुनाले यस्ता रुखहरूको साथमा रहेका पात र झरेका पातहरूले क्यानडा लगायत उत्तरी अमेरिकामा आनन्दित तुल्याउँदो रहेछ जसलाई रङ्गिन ऋतुको उपमा दिँदा रहेछन् । क्यानडामा मेपलको पातलाई नै राष्ट्रिय झण्डाको अङ्कित चिन्हको रूपमा राखिएको छ । यसबाट पनि उनीहरू मेपललाई संरक्षण गर्ने ,उचित प्रयोग गर्ने गर्दा रहेछन् भन्न सकिन्छ । उनीहरू नागरिकलाई ढाट छल गर्दैनन् । उनीहरूको संरक्षण गर्दारहेछन त्यसैले त उनीहरू राज्य प्रति विश्वास गर्दा रहेछन् । राज्यले लिएको नीतिलाई इमानदार रूपमा पालना गर्दा रहेछन् ।

जडीबुटीको हिसाबले भन्ने हो भने नेपालका धेरै बोट बिरुवाहरूको पात बोक्रा जरा आदि धेरै चिजहरूको आर्युबेदिक औषधीको रूपमा प्रयोग गर्दछन् । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भने झैँ रुखप्रतिको विश्वासकै कारण यसको संरक्षण , संवर्द्धन र उपयोग रूपमा विश्वमा कुनै न कुनै प्रकारले गर्दा रहेछन् ।

यात्रालाई महसुस गर्नु एउटा पक्ष होला । सामेल हुनु अर्को पक्ष होला भने यात्रामा भेटेको देखेको कुरालाई प्रयोग गर्नु अर्को महत्त्वपूर्ण पक्ष हो । मैले छोटो क्यानडा बसाइ गर्दा भेटेको सानो अनुभवलाई मात्र यहाँ पस्किने जमर्को गरेको हु । 

प्रतिक्रिया दिनुहोस