काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गर्न निर्देशन दिएको हो । सात दिनभित्र व्यावसायिक प्रयोजनका सटरहरू खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।
अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए ।
उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको जानकारी दिए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गराउनका लागी यो नीति लिएको हो ।