काँक्रेविहार(सुर्खेत) । जाजरकोटको भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।
भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिए। उन्नतजातको बीउ उत्पादनको काम सफल भई किसानहरूले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उनले बताए ।
भेरी नगरपालिकाको किसानहरूलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भ्रमणमा जाने गरिएको उनले जानकारी दिए । भेरी नगरपालिकाबाट उन्नत जातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको काम समेत भइरहेको उनले बताए । हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीले बताए ।
भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती ,मनकामना–३ जातको– भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउँदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका ३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताए ।
भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरी २ हेक्टरमा जमिनमा गहुँ ,प्याज,रायो,मुला,केराउ र सिमी लगायतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भइरहेको उनले जानकारी दिए ।
हाल रामपुर हाइब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनले बताए ।