काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सत्ता समीकरणमा संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति खोजेको छ । मधेश सरकार गठनमा निर्णायक भएपछि नेकपा एसका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्याकेजमै सहमति खोजेका हुन् ।
आफ्नो पार्टीको नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई एमाले र माओवादीले सहयोग नगरेपछि आफूहरूले प्याकेजमै सहमति खोजेको एक नेताले बताएका छन् ।
ती नेताले भने, ‘सुदूरपश्चिमा हाम्रो नेतृत्वको सरकार छ । एमाले माओवादी दुवैले मन्त्री दिएका छैनन् । उहाँहरूले मन्त्री नदिएर मुख्यमन्त्रीलाई काम गर्न समस्या भएको छ । यो त असहयोग हो नि । कर्णालीमा गठबन्धन सरकार भनेका छन् तर हाम्रो पार्टीलाई सांसदलाई मन्त्री बनाएका छैनन् । कोशी प्रदेशमा पनि हामीले विश्वासको मत दिनुपर्ने तर हामीलाई मन्त्री नदिने उनीहरूको बहुमत पुगेको ठाउँमा हामी नचाहिने अहिले अप्ठ्यारो पर्दा मधेशमा हामीलाई खोज्नुभयो ।’