काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोइरालाले सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै काँग्रेसले संसद अवरोध गरेका बेला सत्तारुढ दलको भूमिकामाथि प्रश्न उठाएकी छन् ।
उनले काँग्रेसले वेल घेराउ गरेर शान्तिपूर्ण रूपमा संसद अवरोध गर्दा देखिएको दृश्यले कम्युनिस्ट शासनको रिहर्सल गर्न खोजेको जस्तो देखिएको बताएकी हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्, ‘शान्तिपूर्ण तरिकाले वेल घेराउ गरिरहँदा यस्तो दृश्य देखियो जुन दृश्यले दुनियाँ हासेको छ । यो संसद लोकतान्त्रिक मुलुकको संसद थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो मैले बुझ्न सकिन ।’
गृहमन्त्रीमाथि छानबिनको माग गरेर काँग्रेसले अवरोध गरेका बेला सभामुख देवराज घिमिरेले संसद्लाई कार्यसूचीमा अगाडि बढाएका थिए भने सत्तारुढ दलका सांसदहरुले वेलमा बाटो बनाउँदै प्रधानमन्त्री र मन्त्रीलाई रोष्ट्रममा पुर्याएका थिए ।
सांसद कोइरालाले त्यो घटना कम्युनिस्टहरुको शासन चलाउने रिहर्सल त होइन भन्ने प्रश्न गर्दै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेकी छन् ।
लामो रस्साकस्सीपछि संसदले सहकारीको रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्नुका साथै त्यसको टीओआर पनि टुङ्ग्याएको भन्दै त्यसलाई फेर्ने कोसिस नगर्न पनि उनले आग्रह गरेकी छन् ।