काठमाडौँ । संघीय सरकारका चार जना सहसचिवसहित १४ कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना सहसचिव, चार जना उपसचिव र छ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार सरुवा तथा पदस्थापन गरिएका सहसचिवको सूची प्राप्त भएको छ भने उपसचिव र अधिकृतको सूची गुपचुप राखिएको छ ।
सरुवा तथा पदस्थापन गरिएका सहसचिवहरूमा कृष्ण कुमारी श्रेष्ठ र कविता रेग्मीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको भने कृष्ण पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश र श्रीराम ठाकुरलाई धरान उपमहानगरपालिकामा पठाईएको छ ।
बेमौसमी सरुवाले छपक्कै ढाकेको सामान्य प्रशासनले असारको मुखमासमेत कर्मचारी सरुवा गर्न छोडेको छैन । प्रदेश र स्थानीयलाई सुशासनमा सघाउनु पर्ने निकाय आफै सरुवा कुशासनको चक्रव्यूहमा फस्दै गएको छ । एकताका कानुनमा कहीँ कतै नभएका दुई महिने निमित्त ‘खेती’ शुरु गरेको सामान्य अहिले भएका कन्फर्महरुलाईसमेत धकेलेर निमित्त ‘खेती’लाई निरन्तरता दिइरहेको छ भने निर्णय भई सकेको सरुवा सूचीसमेत लुकाएर थप अपारदर्शीको नमुना बन्दै छ ।
अन्धाधुन्ध सूचीहरू तयार गर्ने र त्यसैका आधारमा ‘बार्गेनिङ’ गर्ने गरेको गुनासो कर्मचारीले गरेका छन् । विशेषगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा ठूलो चलखेल भई रहेको सामान्यकै एक अधिकारीले बताए ।
सरुवा सूचीबारे बुझ्न खोज्दा जिम्मेवार अधिकारीहरु आफूलाई थाहा नभएको भन्दै पन्छिँदै आएका छन् ।