काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पतालमा बिरामीले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि त्यसको समाधानका लागि एउटा विशेष समिति गठन गरेको छ ।
स्वीट्जरल्याण्डमा आयोजित ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर नेपाल फर्केकै दिन शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् । समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन पेस गर्न मन्त्री यादवले निर्देशन दिएका छन् ।