Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वाधार र प्रविधिमा फड्को मार्दै टोखा, मेयरको प्राथमिकतामा विष्णुमती करिडोर


१६ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । टोखा नगरपालिका पूर्वाधार निर्माणसँगै सूचना प्रविधिको प्रयोगमा फड्को मार्दै छ । गंगबुको डुबान र अस्तव्यस्त सडक व्यवस्थापनसँगै सार्वजनिक जग्गा संरक्षण नगरपालिकाका मुख्य प्राथमिकता हुन् । सँगै सूचना प्रविधिमैत्री सेवा प्रवाहलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

आत्मनिर्भर पालिका बनाउने अभियानमा जुटेको टोखा नगरपालिकाले मेयर दीर्घायु स्वास्थ्य परीक्षण कार्यक्रम र विद्यालयमा विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरेर चर्चा कमायो । साथै संस्थागत विद्यालयमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति लक्षित वर्गलाई दिनुपर्ने व्यवस्था गरेको छ भने सामुदायिक विद्यालयमा डिजिटल बोर्डदेखि आइसिटी बेस टिचिङ मेथड अवलम्बन गरेको छ ।

व्यवसाय दर्ता अभियानबाट राजस्व सङ्कलनमा वृद्धि गरेको नगरपालिकाले साना तथा लघु उद्योग पालिकामै दर्ता गर्ने व्यवस्था मिलाउँदै छ । उज्यालो टोखा कार्यक्रमले रातको समयमा हिड्नुपर्नेहरुलाई सहज बनाएको छ ।

पूर्वाधार क्षेत्रमा ८० प्रतिशत काम
एउटै वडामा ५० भन्दा बढी सडक रहेको टोखामा ती सडकलाई व्यवस्थित गर्ने र मानव मलमूत्र बग्ने मुख्य सडकको मुहार फेर्ने काम भएको छ ।

आफ्नो कार्यकालमा पूर्वाधारको क्षेत्रमा करिब ८० प्रतिशत काम भएको नगर प्रमुख प्रकाश अधिकारी बताउँछन् । पहिलो कार्यकालमा विष्णुमती करिडोर खोल्ने सफल भएका नगर प्रमुख अधिकारी भन्छन्, ‘पहिलो कार्यकालमा विष्णुमतीदेखि साङले खोलासम्म खोलिएको थियो । दोस्रो कार्यकालमा मनोहर तीर्थदेखि माथि बुढानीलकण्ठसम्म खोल्ने गरी अभियान चलाएको छु ।’
पालिकामा पुल, खानेपानी ट्याङ्की, स्वास्थ्य चौकी निर्माण भएका छन् । विद्यालय भवन र पार्क पनि निर्माण गरिएको छ । नगर प्रमुख अधिकारीले जनतासँग गरेको प्रतिबद्धता अनुसार एक वडा एक पार्क, एक वडा एक स्वास्थ्य चौकीको अवधारणा पुरा भएको छ । अब बनेका सडकलाई सिँगार पटार गर्ने योजना रहेको उनले सुनाए ।

प्रतिबद्धता अनुसार अघिल्लो कार्यकालमा पुरा हुन नसकेको विष्णुमती करिडोर खोल्ने काम यो कार्यकालमा पुरा गर्ने उनको भनाइ छ ।

स्वास्थ्य र रोजगारीमा नयाँ योजना
समाजवाद उन्मुख अर्थतन्त्रका लागि टोखा नगरपालिका आफ्नै गतिमा अगाडि बढी रहेको छ । पालिकाले सबैलाई समान व्यवहार गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरेको छ । टोखा नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको एक वर्षपछि नेपाल सरकारले यो कार्यक्रम घोषणा गरेको थियो । ‘इतिहासमा टोखावासीले स्मरण गर्ने खालको कार्यको सुरुवात गर्न पाएकोमा खुसी लागेको छ’, नगर प्रमुख अधिकारीले भने, ‘पालिकामा प्रदेश अस्पताल राख्न र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नगरपालिका सफल भएको छ ।’

राष्ट्रका लागि योगदान गरेका अग्रज व्यक्तित्व तथा नगरवासी नागरिकहरूको स्वास्थ्य परीक्षण लागि ‘मेयर दीर्घायु स्वास्थ्य परीक्षण कार्यक्रम’को सुरुवात भएको छ । पहिलो कार्यकालमा ७० वर्षदेखि माथिका ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण हुने व्यवस्था मिलाएका अधिकारीले दोस्रो कार्यकालमा ६० वर्षभन्दा माथिका नागरिकको स्वास्थ्य परीक्षण हुने व्यवस्था गरेका छन् । यसले नागरिकहरूले आफ्नो स्वास्थ्यबारे थाहा पाउन सक्ने र समयमै उपचार गर्ने गरेका छन् ।

साथै वडाको सिफारिसमा मधुमेह (सुगर) र प्रेसरका बिरामीहरूलाई औषधिमा सहुलियत दिने व्यवस्था पनि नगरपालिकाले गरेको छ । स्वास्थ्य उपचर कोषको व्यवस्था गरेर एक व्यक्तिलाई एक वर्षमा पाँच हजार रुपैयाँसम्म सहयोग गर्ने गरिएको नगर प्रमुख अधिकारीले बताए । यसै गरी महिलाहरूको पाठेघरको मुखको क्यान्सर पहिचान (भिआइए) परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

युवाहरूलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषय अहिले नगरपालिकाको प्राथमिकतामा छ । ‘इनोभेसनको लागि युवाहरूको खोजीमै छु । रोजगारीका क्षेत्रमा सिप विकासका कार्यक्रमहरू सञ्चालन भएका छन् । यी कार्यक्रमलाई थप प्रभावकारी बनाउने सोच छ’, नगर प्रमुख अधिकारीले भने, ‘यो कार्यक्रमको सुरुवात गर्‍यो भने युवाहरूलाई रोजगारमा आबद्ध गर्न सक्छौँ । कुनै त्यस्तो कार्यक्रम भए सुझाव दिन आग्रह गर्दछु । यसले युवालाई बिदेसिन जानबाट रोक्न सक्छ ।’

सूचना प्रविधिमैत्री सेवा प्रवाह
कार्यपालिकीय, प्रशासकीय र न्यायपालिकीय भूमिका निर्वाह गर्दै आइरहेको टोखा नगरपालिकाले सेवा प्रवाहलाई थप सहज बनाउन सूचना प्रविधिमा आधारित सेवालाई प्राथमिकतामा राखेको छ ।

अहिले नगरपालिकाका १३ वटा शाखा तथा उपशाखाबाट सेवा प्रवाह भइरहेको छ । हरेक शाखाबाट कुनै न कुनै सफ्टवेयरमा आधारित सेवा प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । दर्ता चलानी, आर्थिक प्रशासन, राजस्व सङ्कलन, नक्सा लगायतका काम डिजिटलाइजेशन भइ सकेको छ ।

फुल अटोमेसनमा लैजानका लागि डिजिटल सिग्नेचरको लागि प्रयास भई रहको छ भने प्रत्येक शाखालाई आइसिटीसँग जोड्नका लागि नयाँ सिस्टम बनाउन नगरपालिकाले सम्झौता गरिसेको छ । ‘सूचना प्रविधिमैत्री सेवा प्रदान गर्न सकियो, कर्मचारी जनमैत्री हुन सके र समयमै सेवा प्रदान गर्न सकियो भने मात्र सुशासनको प्रत्याभूति दिन सकेको हुन्छ’,

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले भने, ‘टोखा नगरपालिकाले यी विषयहरूलाई मध्यनजर गरेर सेवा प्रवाह गर्ने प्रयास गरी रहेको छ ।’

जनतासँग प्रत्यक्ष रूपमा जोडिएर सेवा प्रदान गर्ने भनेकै स्थानीय सरकारले हो । २०७१ मंसिर १६ मा स्थापना भएको नगरपालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । ‘नगरपालिकाले प्रदान गर्ने सेवा के के रहेछन् भन्ने थाहा हुने अवस्था सिर्जना गरेर सेवा प्रवाह गर्नु नै जनमैत्री सेवा प्रणाली हो’, बि.सीले भने ‘यसका लागि पनि नगरपालिकाले प्रयास गरेको छ ।’

मूल्याङ्कन, अनुगमन र कार्य सम्पन्न गर्ने अवस्थासम्मको विषयलाई जोडेर पूर्वाधारसम्बन्धी सफ्टवेयर बनाउने तयारी नगरपालिकाले गरेको छ । बजेट सिस्टमले नै जेनरेटर गरोस् भन्ने उद्देश्यले योजनालाई पनि आइसिटी बेस बनाउने गरी काम भइ रहेको छ । यसले बजेट र आर्थिक अनुशासनमा नगरपालिकालाई अगाडि बढाउने बि.सी.ले बताए । ‘कर्मचारी कहिले नियुक्त भयो, कहिले सरुवा भयो, कहिले बढुवा भयो, कति बेला उपस्थित भयो, कति बेला बिदा भयो ? भन्ने लगायतका विषयहरूलाई व्यवस्थित गर्नका लागि पीआइ सिस्टम बनाउन लागिएको छ’, प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले भने, ‘सेवा प्रवाहका लागि यो कोषे ढुङ्गा साबित हुनेछ ।’

नगरपालिकाले आफ्नै डाटा सेन्टर बनाउने गरी सर्भर रुम निर्माण गर्दै छ । विभिन्न ६ वटा वडामा डिजिटल चार्ट जडान गर्दै छ भने नगरपालिकामा पनि नागरिक वडापत्र राख्ने तयारी भएको छ । यसै गरी प्रोजेक्ट बैंक मार्फत जनतालाई बढी भन्दा बढी प्रतिफल दिन सकिने गरी योजनाहरू छनोट गर्ने गरी नगरपालिकाले काम अघि बढाएको छ ।

बजेट र कानुन निर्माण
सबै भन्दा कान्छो सरकार स्थानीय सरकार एउटा पूर्ण सरकार पनि हो । संविधानले स्थानीय सरकारलाई प्रशस्त अधिकार प्रदान गरेको छ । ती अधिकार प्रयोग गर्ने प्रयास स्थानीय सरकारहरूले गरी रहेका पनि छन् ।

स्थानीय सरकारका लागि संविधान सरहको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मूल कानुनका रूपमा छ । टोखा नगरपालिकाले यो एक वर्षको अवधिमा २४ वटा कानुन, नीति र मापदण्ड निर्माण गरेको छ । नीति निर्माणतर्फ करिब १२ वटा कानुन आगामी दुई महिनाभित्र बनाउने गरी काम भइरहेको छ । ‘जनतालाई घरमा सेवा प्रदान गर्ने सबै भन्दा नजिकको सरकार स्थानीय सरकार हो’, प्रमुख प्रशासकीय अधिकृत बि.सी. भन्छन्, ‘संविधान र कानुनले दिएको अधिकार अनुसार स्थानीय सरकारले करिब तीन सय काम गरिरहेको छ ।’

उनका अनुसार नगरपालिकाले प्रि-बजेटमाथि छलफल गरिसकेको छ । विभिन्न समितिमा छलफल भएको छ । वडा कार्यालयबाट योजना र कार्यक्रमको सूची तयार गरी कार्यपालिका हुँदै नगर सभाबाट बजेट पारित हुने गर्दछ । सूचीकृत योजनालाई वडा कार्यालयबाट प्रोजेक्ट बैंकमा राखेर नगरपालिकाले तयार गरेको एमटिएफ अनुसार ती योजना र कार्यक्रम उच्च प्राथमिकताका आधारमा अघि बढ्ने गरेको बि.सी.ले जानकारी दिए । यसैको आधारमा आगामी वर्षको बजेट बन्ने उनको छ । विषयगत समितिमा छलफल गरेर कार्यान्वयन योग्य बजेट निर्माण गर्ने गरी काम भइरहेको छ ।

टोखा नगरपालिकाले चालू आर्थिक वर्ष २०८०-८१ मा एक अर्ब ८८ करोड रुपैयाँको बजेट बनाएको थियो । विभिन्न प्रकारका योजना तथा कार्यक्रमहरू तर्जुमा गर्दै आर्थिक वर्षको सुरुवातीदेखि नै योजना कार्यान्वयनमा लगिरहेको छ । विषयगत क्षेत्रहरूलाई समेटेर योजनाहरू तर्जुमा गरेर कार्यान्वयन गरिरहेको बि.सी.ले बताए ।

पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, कृषि तथा पशु सेवाको क्षेत्र लगायतका क्षेत्रलाई आधार बनाएर नगरपालिकाले काम गरिरहेको छ । ‘अहिले ७५ देखि ८० प्रतिशत प्रगति हासिल गरेको छ’, प्रमुख प्रशासकीय अधिकृत बि.सी. भन्छन्, ‘यही गतिमा अगाडि बढ्ने हो भने यो वर्ष नगरपालिकाले ९० देखि ९२ प्रतिशतसम्म प्रगति हासिल गर्न सक्छ । यो भनेको तीनै तहका सरकारका लागि माइल स्टोन हुन सक्छ । वार्षिक कार्यान्वयन योजना, खरिद योजना अनुसार नै अघि बढ्न सक्यौँ भने लक्ष र प्रगति प्राप्त गर्न सक्ने अवस्था हुने रहेछ ।’

साउन महिनामा वार्षिक कार्यान्वयन कार्य योजना तयार गर्ने गरेको नगरपालिकाले भदौ महिनाभित्र खरिद गुरु योजना तयार गरेर काम गर्न थाल्यो । समय तालिका अनुसार प्रगति समीक्षा गर्दै कार्यान्वयन गर्ने शाखासँग छलफल र परामर्श गरेर काम हुने गरेको छ । प्रत्येक साता हुने रिपोर्टिङले पनि प्रगति हासिल गर्न सफल भएको बि.सी.ले बताए ।

लिजा, एफआरएमा नगपालिका उत्कृष्ट स्थानमा छ । नगरपालिकाले आर्थिक सर्वेक्षण गर्दै छ भने र सामाजिक लेखा परीक्षणका लागि सम्झौता भएर कामा अघि बढेको छ ।

आत्मनिर्भर पालिका बनाउने अभियान
नगरपालिका आत्म निर्भर हुनुपर्छ भन्ने विषय नै टोखा नगरपालिकाको उच्च प्राथमिकतामा छ । जनप्रतिनिधि र कर्मचारीहरूलाई बेला-बेला तालिम प्रदान गर्ने गरिएको छ । जसले नेतृत्वदायी भूमिका र सेवा प्रवाहमा प्रभावकारिता ल्याएको छ । 

जनप्रतिनिधि र कर्मचारीको भूमिका के हो भनेर छुट्याउन समेत सहयोग पुर्‍याएको छ । सेवाग्राहीलाई सहजीकरण गर्ने गरी कर्मचारीहरूको व्यवहारमा परिवर्तन ल्याउने काम नगरपालिकाले गरी रहेको छ । टोखा नगरपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी छैनन् भने सबै निकायमा हेल्प डेस्क राख्ने योजना पालिकाको छ ।

यसकै लागि पालिकाले विभिन्न समयमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । यस क्रममा असोजमा कर सप्ताह गर्‍यो । कर सप्ताहको उद्देश्य सबै करदातालाई करको दायरामा ल्याउनुपर्छ भन्ने थियो । सोही अनुसार ठुला करदाता करको दायरामा पनि आए । जसको उदाहरण स्वरूप ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताललाई लिन सकिन्छ । यो वर्ष ग्रान्डी अस्पतालले चार करोड २७ लाख रुपैयाँ कर तिरेको छ ।

यस्तै देउराली जनता औषधि उद्योगले पनि नगरपालिकालाई कर तिर्न सुरु गरेको छ । एक किस्तामा २० लाख रुपैयाँ कर तिरी सकेको उद्योगले यो आर्थिक वर्षभित्र ६० लाख रुपैयाँ कर बुझाउने छ । कर सप्ताहको माध्यमबाट ठुला करदाता नगरपालिकामा जोडिएका छन् । यसले स्थायी रूपमा करको दायरा बढेको छ । हरेक आर्थिक वर्षमा एक महिना व्यवसाय दर्ता अभियान सञ्चालन गर्ने गरी पालिकाले कार्यविधि बनाएको छ । 

‘कर सप्ताह, बजार अनुगमन र व्यवसाय दर्ता अभियान पश्चात् नगरपालिकाले यसको सफलता र चुनौतीहरूको समीक्षा गरी आगामी दिनमा थप अभियान सञ्चालन गर्ने छ’, प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले भने, ‘करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउने गरी नगरपालिका अघि बढेको छ ।’ साना तथा लघु उद्योग पालिकामै दर्ता गर्ने व्यवस्था नगरपालिकाले मिलाउँदै छ ।

सार्वजनिक जग्गा संरक्षण
टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरपालिकाका विभिन्न स्थानमा भएका सार्वजनिक जग्गा खोल्दै जाने क्रममा विष्णुमती नदीको करिडोर पनि खोलिएको छ । 

सार्वजनिक जग्गा संरक्षण समितिलाई सक्रिय बनाउँदै नगरपालिकाले मनोहर तीर्थबाट अभियान सुरु गर्‍यो । यो अभियान अहिले पनि जारी छ । नदीको दायाँ बायाँ अतिक्रमण गरेर बनाइएका संरचनाहरू, नक्सा पास नगरी बनाइएका संरचनाहरू र मापदण्डविपरीत बनाइएका संरचनाहरू फागुन महिनादेखि हटाउने काम भइ रहेको छ । विष्णुमती करिडोरमा अतिक्रमण गरेर बनाइएका धेरै संरचनाहरू नगरपालिकाले हटाएको छ । ट्र्याक खोल्ने काम पनि भएको छ ।

‘सार्वजनिक जग्गाको अतिक्रमण हटाउन काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरिएको छ’, बि.सी.ले भने ‘ग्राण्डी क्षेत्रमा पनि सहजीकरण गरेर बाटो खोल्ने गरी तयारी भइरहेको छ ।’ गोङ्गबु क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका घर टहराहरू हटाउने कार्य अघि बढेको उनले जानकारी दिए । उनका अनुसार प्राविधिक टोली राखेर लगत सङ्कलन र रेखाङ्कनको काम गर्ने गरी पालिकाले योजना बनाएको छ ।

‘नगरपालिकाले अवैध संरचना छ भनेर रेखाङ्कन गरिदियो भने स्थानीय आफैँ हट्ने पनि गरेका छन्’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षणमा नगरपालिकाले उपलब्धहरू हासिल गर्दै गएको छ ।’

सेवाग्राहीको सन्तुष्टी र सुझाव
टोखा नगरपालिका वडा नं. ७ का नवीन थापा मगरले पालिकाले प्रदान गर्ने सेवा प्रवाह आफूले चुस्त दुरुस्त पाएको बताए । ‘शाखामा गए पनि ढिला सुस्ती भएको महसुस भएको छैन । कर्मचारीहरूले कहीँ कतै सेवाग्राही अलमलिए कुन शाखामा जानुपर्ने हो बताइदिने रहेछन्’, उनले भने । नक्सा पास र नामसारीको काम लिएर आएका वडा नं. ५ का हरिप्रसाद पराजुलीले वडा र पालिका दुवैले सहजै काम गरिदिएको सुनाए ।

सङ्घीयता आइसकेपछि स्थानीय तहमा धेरै सुधार भएको सेवाग्राहीको अनुभव छ । वडा नं. ३ का देवेन्द्र ज्ञवाली भन्छन्, ‘कर्मचारी रेस्पोन्सिभल हुनुहुन्छ । फिल्डमै गएर पनि सेवा दिने गर्नु भएको छ ।’ तर, यो नै पर्याप्त नभएको उनको भनाइ छ । क्षमता विकास गर्न नसक्दा नगरपालिकाले चाहेर पनि धेरै सेवा दिन नसकेको उनले सुनाए । 

पालिकामा सेवा अनुसार कोठा छुट्याइएको छ । कुन कोठाबाट कुन सेवा लिने भन्ने विषयमा सेवाग्राही अलमलिए भने कर्मचारीले सघाउने गरेका छन् । ‘कुनै कागजात नपुगेको भए पनि यो पुगेन भनेर बताइदिनु हुन्छ । सहजी करण गर्नु हुन्छ’, वडा नं. ३ का सिजी बहादुर महर्जनले भने । स्थानीय मात्र होइन बाहिरबाट सेवा लिन आएकाहरूको पनि प्रतिक्रिया यस्तै छ । व्यवसाय दर्ता गर्न आएका गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का शरद कुमार अर्यालले काम छिट्टै भएको प्रतिक्रिया दिए । 

शिक्षा र स्वास्थ्यमा पालिकाले गरेको पहलप्रति स्थानीय सन्तुष्ट छन् । वडा नं. १ फूलबारीका सुमन तिवारी भन्छन्, ‘कुन वडामा कुन प्रकारको विकास निर्माणको काम गर्नु पर्छ भन्ने तय गरेर पालिकाले योजना छनोट गरेको छ । खुसी लागेको छ ।’ सरकारी र निजी विद्यालयमा एकै प्रकारको शिक्षा हुनुपर्ने स्थानीय बताउँछन् । वडा नं. ३ की अनिता श्रेष्ठले नगरप्रमुख र उपप्रमुखलगायतका जनप्रतिनिधि र कर्मचारीहरू सहयोगी भावनाका रहेको बताइन् । ‘पालिकालाई केही गर्छु भन्ने भावना उहाँहरूमा भएको पाएकी छु । शिक्षा राम्रो लागेको छ’, उनले भनिन् । 

त्यसो त पूर्वजनप्रतिनिधिलाई पनि पालिकाको सेवा प्रवाह चुस्त दुरुस्त भएको लागेको छ । टोखा नगरपालिकाकी पूर्व जनप्रतिनिधि शोभा तामाङ भन्छिन्, ‘नगरपालिका अहिलेसम्म अगाडि नै छ । अझै गर्न बाँकी पनि छ ।’ तामाङ भने जस्तै पालिकाले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा काम गर्न बाँकी नै छ । 

विकास निर्माणले फड्को मारेको छ । तर, आफ्नो पालिका पहिलो भएको हेर्ने चाहना पूरा हुन पानीको समस्या समाधान गर्दै सरसफाइमा अझै ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ । ‘नबनेका कानुनहरू बनाउँदै जाने, कानुन योग्य बजेट निर्माण गर्ने, आत्मनिर्भरता प्रवर्द्धन गर्ने र कानुनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी पालिका अघि बढेको छ । ‘कर्मचारीहरू कानुनमा कडा र व्यवहारमा नरम हुनुपर्छ’, प्रमुख प्रशासकीय अधिकृत बि.सी भन्छन्, जनप्रतिनिधिहरूले नीति निर्माण गर्ने, उहाँहरूले निर्माण गरेका नीति, नियम, कानुन कार्यविधिहरूलाई अक्षरश पालना गर्दै आफ्नो धर्म निर्वाह गरेर जनतालाई राम्रो भन्दा राम्रो सेवा दिनुपर्छ ।’

‘पानीको व्यवस्था गर्न सकिएको छैन । तर, यसको व्यवस्था गर्ने प्रयास गरी रहेको छु,’ नगर प्रमुख अधिकारी भन्छन्, ‘पाइपलाइन विस्तार भएको छ । पानी पनि पुर्‍याउने बारे दैनिक रूपमा विभिन्न निकायमा धाइ रहेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस