काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको काँग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ ।
बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ ।