विश्वकप अघि सोमपालले भने-विश्वकपमा गुमाउनु केही छैन, गर्व महसुस गराउने गरी खेल्छौँ « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

विश्वकप अघि सोमपालले भने-विश्वकपमा गुमाउनु केही छैन, गर्व महसुस गराउने गरी खेल्छौँ


१३ जेष्ठ २०८१, आइतबार


अमेरिका (ह्युस्टन) । अमेरिका र वेस्टइन्डिजमा एक सातापछि हुने टी-२० विश्वकपका लागि अहिले नेपाली टोली अमेरिकामा विभिन्न स्थानीय क्लबसँग ‘वार्मअप’ खेल खेलिरहेको छ । वार्मअप खेलमा पनि सकारात्मक नतिजा ल्याइरहेको नेपाली टिम विश्वकपमा भिड्न उत्तिकै उत्साहित देखिन्छ ।

विश्व क्रिकेटका ‘पावर हाउस’सँग भिड्नुअघि सुपर-८ मा पुग्ने लक्ष्य राखेको छ । तर त्योभन्दा अगाडि आफ्नो समूहमा रहेको नेदरल्यान्डसलाई पहिलो खेलमै हराएर ‘मोमेन्ट क्याच’ गर्ने दाउमा नेपाली टिम छ ।

‘मेन टार्गेट नै फर्स्ट गेम जित्ने हो । त्यो मोमेन्टम क्यारी गर्‍यौँ भने जुन हिसाबले यूएसएले बंगलादेशलाई हरायो, त्यसरी नै सुपर ८ मा पुग्न एक्साइटेड छौँ’, नेपाली टिमका प्रमुख खेलाडी सोमपाल कामीले भने, ‘तर त्योभन्दा मुख्य गोलचाहिँ नेदरल्यान्डसलाई हराउनु हो ।’

नेपाल १० वर्षपछि विश्वकपमा छानिएको हो । १० वर्ष विश्वकप खेलेका तीव्र गतिका बलर सोमपालमात्रै अहिलेको टिममा दोहोरिएका छन्, बाँकी सबै खेलाडी पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका हुन् ।

आइतबार ह्युस्टनमा खेल पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सोमपालले आफूहरूले नेपाली दर्शक र समर्थकलाई निराश बनाउने पक्षमा नरहेको सुनाए । लामो समयदेखि सँगै खेलेका टिम नै विश्वकपमा आएकाले त्यसले जित निकाल्न सहज हुने उनको विश्वास छ ।

विश्वकप आफूहरूको लागिमात्रै नभएर क्रिकेटमा आउन चाहेका नयाँ पुस्ताका लागि पनि राम्रो अवसर भएकाले यसलाई गुमाउने पक्षमा नरहेको सोमपालले बताए । आफूहरूले विश्वकपमा राम्रो गरे नयाँ पुस्तालाई ‘मोटिभेट’ गर्ने जिम्मा आफूहरूको रहेको उनको भनाइ छ । विश्वकपमा आफूहरूले गुमाउनुपर्ने केही नरहेकाले कुनै पनि तनावबिना खेल्न तयार रहेको सोमपालले बताए ।

विश्वकपमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । कम्तीमा नेदरल्यान्डससहित एक टेस्ट टोलीलाई हराउन सके नेपाल सुपर-८ खेल्न पाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस