विद्यालय भवन हस्तान्तरण « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

विद्यालय भवन हस्तान्तरण


१२ जेष्ठ २०८१, शनिबार


देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि सिंहले युवाको शिक्षाप्रतिको आकाङ्क्षा पूरा गर्न र दूरदराजका नागरिकको जीवन बलियो बनाउन सहयोग पुर्‍याउने उद्देश्यले भारत सरकारले यस प्रकारको सहयोग प्रदान गर्दै आएको बताए। विकास साझेदार कार्यक्रमअन्तर्गत राजदूतावासले सहयोग गरेको उनको भनाइ थियो ।

भारतले नेपालको विकास साझेदारीमा सन् २००३ देखि काम गर्दै आएको छ । उनले विकास साझेदारीका माध्यमबाट अझ परियोजनामा सहकार्य हुने विश्वास दिलाए । 

उनका अनुसार लुम्बिनीमा ६१ वटा विद्यालयमा यस प्रकारको सहयोग भइसकेको छ भने दाङमा छ विद्यालयको पूर्वाधारमा लगानी, पाँच वटा स्कुल बस सहयोग गरेको जानकारी गराउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । प्रदेशभर एक हजार नौ वटा एम्बुलेन्स, तीन सय वटा स्कुल बस प्रदेश भर सहयोग भएको पनि उनले बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत विविध क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगबाट नेपाल  र नेपालीको जीवन बदल्न सहयोग मिलेको बताए ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले भारतीय शिक्षकले दाङमा आएर अध्यापन गरेको स्मरण गरे । 

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शैक्षिक उन्नयनका लागि प्राप्त भएको विद्यालय भवनको सही सदुपयोग हुनु प्रभावकारी देखिएको बताए ।  विद्यालयलाई यसबाट थप शैक्षिक गुणस्तर कायम गर्दै अघि बढ्न सुझाव दिए । 

भारत सरकारको रु दुई करोड ६८ लाख लागतमा २०६४ मा शिलान्यास भई २०६६ मा सम्पन्न भएको उक्त विद्यालयको करिब १७ वर्षपछि उद्घाटन गरिएको छ । हाल  उक्त भवनमा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायका दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन् । 

सो अवसरमा विद्यालयले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी सहयोग गरेको भन्दै दूतावासलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीको चाप बढ्दै गएकाले थप पूर्वाधार र विद्यालय बसको सहयोगसहितको प्रस्ताव पनि दूतावासलाई बुझाएको छ । विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतको स्वागत तथा विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक दुर्गा पाण्डेले गरेका थिए । शुक्रबार नै लमही नगरपालिका–४ बनगाउँस्थित बालजनता माविमा निर्मित भवनको पनि उद्घाटन गरिएको छ ।

रु एक करोड ५९ लाखको लागतमा २०६३ पुस ६ गते शिलान्यास भई २०६६ सालमा सम्पन्न भएको ३७ कोठे विद्यालय भवनको भारतीय राजदूतावासका प्रथम सचिव अवनाशकुमार सिंहले उद्घाटन गरेका हुन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस