काठमाडौँ । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’को माग गर्दै एक्लै उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाएपछि शुक्रबार साँझ चापागाईँ मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा पुग्दा कुनै समिति नभएर मन्त्री स्वयं मात्रैले चापागाईँलाई सहमतिमा आउन आग्रह गरेपछि शिक्षा सचिव बिना वार्ता सम्भव नहुने भन्दै चापागाईँ बाहिरिएका छन् ।
प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका ५ बुँदे उनको माग छ । उनले २ जेठदेखि माइतीघरमा हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म उभिएर एक्लै प्रदर्शन गर्दै आएका छन् ।