छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको हो । आज दिउँसो बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । काँग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

यसअघि बसेका तीन वटा बैठक सत्तापक्ष र काँग्रेस आ-आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन् । काँग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका छन् । 

प्रतिनिधि सभाको बैठक भोलिका लागि बोलाइएको छ । त्यसअघि सहमति खोजेर सदन सुचारु हुने वातावरण बनाइदिन सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस