काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।
बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपाङ्गता भएकाहरूको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध जनाएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस अगाडि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयनको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका थिए ।
आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरू र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरूको कार्यान्वयनमा जोड दिन, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले रत्नपार्कको शान्तिवाटिकाबाट पर्यटन बोर्ड हुँदै माइतीघरसम्म पूर्वयोजना अनुरूप अपाङ्गता भएका व्यक्तिहरूको समूहले गरेको प्रदर्शनको अनुगमन गरेको जनाएको छ ।
अनुगमनमा उक्त क्षेत्रको सवारी आवागमन अवरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि लछारपछार गर्दै कुटपिट गरेको आयोगले जनाएको छ ।
बुधबार सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गर्ने २० जनालाई लछारपछार गर्दै पक्राउ गरेको थियो ।