काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगको सदस्य बन्नका लागि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था गरिएको छ । भर्खरै मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘विश्वविद्यालय अनुदान आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा यस्तो व्यवस्था गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को उपदफा एकको खण्ड च बमोजिम उच्च शिक्षामा विशेष योगदान पुर्याउने विद्धान तथा वरिष्ठ प्राध्यापकमध्येबाट नेपाल सरकारले मनोनीत गरेका दुई जना व्यक्तिलाई आयोगको सदस्य तोक्ने व्यवस्था छ ।
यी दुई जना सदस्य बन्नका लागि प्रचलित कानून बमोजिम स्थापित कुनै विश्वविद्यालयको प्राध्यापकको पदमा नियुक्ति पाएर कम्तिमा तीन वर्षको अनुभव हासिल गरेको तथा उच्च शिक्षाको विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएको हुनुपर्ने भनिएको छ । साथै कम्तिमा पनि विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेको हुनुपर्ने, निजी उच्च शैक्षिक संस्थामा लगानी नगरेको हुनुपर्ने, ३५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।