बागमती । बागमती प्रदेश सभाले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले पेस गरेको प्रदेश सरकारको आगामी आव २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको हो ।
प्रदेश सभाका सबै सदस्य सरकारको विनियोजन विधेयक स्वीकृतकै पक्षमा देखिएपछि सभामुख भुवनकुमार पाठकले सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे।
प्रदेश सभाबाट सर्वसम्मत स्वीकृत भएको विनियोजन विधेयकमाथि प्रदेशसभामा जेठ ६ गतेदेखि छलफल प्रारम्भ हुने सभामुख पाठकले घोषणा गरे । प्रदेशसभाको अर्को बैठक भोलि जेठ २ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ ।
‘आगामी बजेट गरिबी निवारणमा केन्द्रित’
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट रोजगारी अभिवृद्धिमार्फत गरिबी निवारणमा केन्द्रित हुने भएको छ ।
प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले सरकारको आगामी आव २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुँदै बजेट रोजगारी अभिवृद्धिमार्फत गरिबी निवारणमा केन्द्रित हुने बताए ।
प्रदेश भित्रको उपलब्ध स्रोत साधनको कुशलतम र न्यायोचित वितरण गरी रोजगारी सिर्जना गर्दै गरिबी निवारणमा बजेट केन्द्रित गर्नु आवश्यक रहेको औँल्याए । उनले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
लगानी क्षेत्रको पहिचान र विकास गर्दै लगानीकर्तालाई विशेष सुविधा प्रदान गरी लगानीमैत्री प्रदेशको रूपमा विकास गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । मन्त्री थपलियाले लगानीमैत्री प्रदेशको रूपमा विकास गरी आर्थिकको रूपमा समृद्ध प्रदेश निर्माणमा सरकार अग्रसर रहेको जानकारी दिए ।
राजस्व सम्भावना भएका क्षेत्रको पहिचान गरी राजस्व दरलाई समयानुकूल परिमार्जन र राजस्वको दायरा वृद्धि गर्दै प्रदेशको दिगो आन्तरिक आयमा वृद्धि गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री थपलियाले आगामी आव २०८१-८२ को नीति, कार्यक्रम र बजेट संविधानले निर्देश गरेबमोजिम समाजवाद उन्मुख, स्वतन्त्र समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुने प्रष्ट पारे ।