गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : कृष्ण सिटौला « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : कृष्ण सिटौला


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् । 

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सिटौलाले गृहमन्त्रीमाथि लागेको ठगी आरोप माफीयोग्य नभएको र गृहमन्त्रीका विषयमा प्रहरीले निष्पक्ष भएर छानबिन गर्नै नसक्ने दाबी गरेका हुन् ।

शुक्रवार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक चल्न नदिने भन्ने निर्णय गरेको भन्दै नेता सिटौलाले संसदीय छानबिन समिति बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको आरोप लगाए ।

उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘हामीले पटक(पटक कहिले प्रधानमन्त्रीको र कहिले सभामुखको समन्वयमा हामीले उहाँलाई भेटेका छौँ । हामीले स्वयं गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ । तपाईँले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् भनेका हौँ । हामी सहयोग पुर्‍याउन चाहन्छौँ । अर्बौँ घोटालाको कुरा छ । अर्बौँ अपचलनको कुरा छ । गृहमन्त्रीमाथि लागेको यति ठूलो आरोपमा छानबिन नै नगरी क्लिन चिट दिन कसरी मिल्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस