सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा कडाइ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा कडाइ


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा कडाइ गरेको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार सुर्तीजन्य पदार्थको आयात उत्पादन बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्नका लागि प्रशासनले कडाइ गरेको हो । प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलदेखि १०० मिटर भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन नगर्न नगराउन भनेको छ ।

सार्वजनिक स्थल (सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, अस्पताल, बालगृह, वृद्धाश्रम, धार्मिक स्थल, सार्वजनिक सवारी साधन लगायत) देखि १०० मिटर भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्ने गरेको भए सात दिन भित्र हटाउन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । ‘सात दिन भित्र नहटाएमा सुरक्षा निकाय, स्थानीय तह, स्थानीय प्रशासनबाट अनुगमन गरी सो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम हुनेछ’, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा साेमबार जारी सूचनामा भनिएको छ, ‘१८ वर्ष नपुगेका बालबालिका र गर्भवती महिलालाई बिक्री वितरण गर्न, सुर्तीजन्य पदार्थ निःशुल्क रूपमा उपहार दिन तथा सुर्तीजन्य पदार्थ प्रति आकर्षण हुने गरी बिक्री स्थल सजावट गर्न नपाइने ब्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस