गाडी नपाएको सांसद खाँनको गुनासो, सचिवालय भन्छ– बारम्बारको दुर्घटनाबारे छानबिन गर्नुपर्ने देखियो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गाडी नपाएको सांसद खाँनको गुनासो, सचिवालय भन्छ– बारम्बारको दुर्घटनाबारे छानबिन गर्नुपर्ने देखियो


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले संसद सचिवालयले सवारी साधन उपलब्ध नगराएको गुनासो गरेका छन् । विभेदका कारण आफूलाई सवारी साधन उपलब्ध नगराइएको उनको आरोप छ ।

पूर्व मन्त्रीसमेत रहेका खाँन गत चैत्र २६ गते धादिङमा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेको उक्त सवारी साधनमा गम्भीर क्षति पुगेको छ ।

‘दुर्घटना भएको एक महिनासम्म पनि संसद सचिवालयले सवारी साधन उपलब्ध गराएको छैन । उपचारसँगै कार्यक्रममा जान समस्या परेको छ’, उनले भने, ‘सिंहदरवारभित्रै पूर्व मन्त्री एवं संसदीय समितिको सभापतिलाई समेत यो खालको विभेद हुन्छ भने सामान्य नागरिकको काम कसरी होला ?’

प्रतिनिधि सभाका सभामुख, संसद्का महासचिवलाई पटक पटक मौखिक तथा लिखित रूपमा सवारी साधनको विषयमा अपडेट गराउँदासमेत असहयोग गरेको उनको भनाइ छ । ‘म जस्तै दुर्घटनामा परेको भए के सभामुख र महासचिवलाई पनि एक महिनासम्म सवारी साधनको व्यवस्था हुँदैन थियो ?’ उनको प्रश्न छ, ‘उहाँहरू पनि कोठा कोठा धाउनु पर्थ्यो ?’

‘हामीसँग भएको स्रोत अनुसार माननीय ज्यूहरूलाई सहयोग गर्न तयार छौँ’, संसद्का महासचिव पद्म प्रसाद पाण्डेले भने, ‘राज्यको सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व हो ।’

सवारी साधन उपलब्ध नभएपछि सभापति खाँनले संसद सचिवालयमा प्रयोग भएका सवारी साधनको विवरण माग गरेका छन् । तर, अहिलेसम्म विवरण उपलब्ध नभएको उनको भनाइ छ । 

संसद सचिवालयमा भएको सवारी साधन तथा अन्य अनियमितताबारे आफू अदालतसम्म जान पनि पछि नपर्ने उनको चेतावनी छ । ‘मौखिक रूपमा हुन्छ, हुन्छ । अहिले सवारी साधन छैन । मर्मतमा गएको छ । भएपछि मिलाउँछौँ भन्ने जवाफ आउने गरेको छ । लिखित रूपमा सभामुखलाई दिँदा निर्देशन गरिसकेको छु भन्ने जवाफ पाएको छु’, उनले भने, ‘सभामुखले महासचिवलाई र महासचिवले सवारी शाखालाई निर्देशन गरेको जवाफ छ । तर, सवारी शाखाले अहिले सवारी साधन छैन भन्ने जवाफ दिएको छ ।’

संसद सचिवालय सवारी साधन व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अर्यालले सभापति खाँनले सवारी साधन माग गरेको विषयमा माथिल्लो निकायलाई जानकारी गराइ सकेको र माथिबाट थप आदेश आएसँगै सवारी साधन उपलब्ध गराउने जानकारी दिए । ‘उहाँलाई सवारी साधन उपलब्ध गराएकै हो । बीचमा साटेर ६ महिना अघि मात्रै किनेको नयाँ सवारी साधन लिनु भएको थियो’, उनले भने, ‘अहिले उहाँले खोजे जस्तो साधन हामीसँग छैन । राम्रोको खोजी भइरहेको छ ।’

किन पटक पटक दुर्घटना भयो ?
सभापति खाँनलाई उपलब्ध गराएको सवारी साधन पटक पटक दुर्घटनामा परेको संसद सचिवालयले जनाएको छ । सचिवालय स्रोतका अनुसार खाँनले प्रयोग गरेको सवारी साधन चार पटक दुर्घटनामा परेको छ । 

‘माननीयको सुरक्षाको विषय पनि रह्यो । किन बारम्बार सवारी दुर्घटनामा परेको छ भनेर समस्या पहिचान गर्ने काम भइरहेको छ’, सचिवालय स्रोतले भन्यो, ‘दुर्घटनामा उहाँलाई ठूलो चोट लागेन, यो राम्रो कुरा हो । दुर्घटना आफै गराउने विषय होइन । तर, पटक पटक भएको दुर्घटनाको विषयमा छानबिन गर्नुपर्ने देखिएको छ । सचिवालयले चालकको बारेमा बुझ्न खोजेको छ ।’

संसद सचिवालयले पहिले खाँनले रोजेकै सवारी साधन उपलब्ध गराएको जनाएको छ । पछिल्लो पटक गत चैत २६ मा भएको दुर्घटनामा उक्त सवारी साधनमा ठूलो क्षति पुगेको छ । मर्मतमा २५ लाख बढी खर्च आउने देखिएको छ ।

खाँनले राम्रो सवारी साधन माग गरेको र उनले रोजे जस्तो साधन तत्काल उपलब्ध नभएको बताइएको छ । ‘६४ सालदेखिका गाडी छन् । ती गाडी उहाँलाई काम छैन । उहाँले चाहे जस्तो गाडी छैन । फरक गाडी उपलब्ध गराउँदा फेरि केही भयो भने अर्को आरोप आउँछ’, स्रोतले भन्यो ।

सम्बन्धित समाचार: गाडी उपलब्ध नगराएकोमा सभापति खानको असन्तुष्टि, संसद सचिवालयसँग मागे विवरण

Tags :
प्रतिक्रिया दिनुहोस