श्रम मन्त्रालयले भन्यो-युरोप, अमेरिका, जापान, कोरिया, इजरायलमा रोजगारी दिने भन्दै ठगी बढ्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

श्रम मन्त्रालयले भन्यो-युरोप, अमेरिका, जापान, कोरिया, इजरायलमा रोजगारी दिने भन्दै ठगी बढ्यो


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरूमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरूमा वैदेशिक रोजगारी पठाउने भन्दै बढ्दै गइरहेको ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले बताएको छ । यसका लागि आम सरोकारवालाहरूको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस