नेपालको घाँस चीन पठाउने सहमति « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपालको घाँस चीन पठाउने सहमति


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमति पत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।

१७ गते सोमवार बिहानदेखि सुरु भएको सत्रौं नेपाल-तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौँरी, याक, घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा सहमति गरिएको छ ।

चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउनेसम्बन्धी सम्झौता समारोहमा भएको छ ।

दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजाने गरी भएको सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ । उक्त कार्यमा नेपालका विभिन्न निकाय तथा तिब्बतको वाणिज्य विभागले सहजीकरण गरेको चिनियाँ व्यवसायी चाङ चिन्स्याङ्गले बताए । उनका अनुसार यसका निम्ति तिब्बत प्लेटो एग्रिकल्चर कम्पनीले तिब्बतको कृषि तथा ग्रामीण मामिला विभागबाट सन् २०२३ डिसेम्बरमा व्यावसायिक निर्देशन प्राप्त गरिसकेको छ ।

तिब्बतमा याक तथा पशु उद्योग प्रवर्धनका लागि विशेष गरी हिउँदमा हरियो र पौष्टिक घाँस खुवाउने योजनाअनुसार नेपालबाट हेइलेज खरिद गर्न लागिएको हो । दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजाने गरी भएका सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।

समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, नेपालमा रहेका चिनियाँ व्यवसायीहरू, बैंकर तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा नेपालको हरियो घाँस हेइलिजको उत्पादनदेखि तिब्बतसम्मको निर्यातबारे छोटो भिडियो प्रदर्शन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस