नेपालले आज वेस्ट इन्डिज ए सँग तेस्रो खेल खेल्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेपालले आज वेस्ट इन्डिज ए सँग तेस्रो खेल खेल्दै


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपालले टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्ट इन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि ५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरीमा छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन ।

पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए । आजको खेल प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपमा छनोट गर्न सक्छ । विश्वकपमा पर्न सबै खेलाडीलाई यो अन्तिम अवसर हुनेछ । सुरुआती २ खेलमा बेन्चमा रहेका विकेटकिपर विनोद भण्डारी र आसिफ शेखले आज मौका पाउन सक्छन् । अनिल शाह र कुशल भुर्तेल दुबैलाई विश्राम दिने सम्भावना छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी छन् ।

यस्तै, वेस्ट इन्डिज ए टोलीमा रोस्टन चेश(कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस