लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ : डा. बाबुराम भट्टराई « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ : डा. बाबुराम भट्टराई


१८ बैशाख २०८१, मंगलबार


मोरङ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुने बताएका छन् । नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन  आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित  नागरिक संवाद तथा चियापान कार्यक्रम-२०८१ मा उनले निर्वाचित जनप्रतिनिधिलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा सङ्घीय गणतन्त्र सुदृढ हुनुका साथै जनता एवं मुलुकमा समृद्धि कायम हुने धारणा राखे ।

पूर्वप्रधानमन्त्री भट्टराईले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा रहेका केही कमीकमजोरीलाई सहमतिको आधारमा संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिए । उनले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता राख्नुपर्छ भन्दै यसबाट मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुनका साथै विदेशी मुद्राको आर्जन गर्न सकिने विचार राखे ।

अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा युवायुवतीको वैदेशिक अध्ययन र कामका लागि पलायन हुने मोह गम्भीर विषय हो भन्दै उनीहरूको देश र समाजप्रतिको अविश्वासलाई विश्वासमा परिणत गराउन राजनीतिक दल, नागरिक समाजलगायत हामी सबै लाग्नुपर्ने आवश्यकता औँल्याए ।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिका आधारमा छिमेक मित्रराष्ट्र भारतसँग कृषि, विद्युत्लगायतका अन्य क्षेत्रका समस्या समाधान गर्न गम्भीर रूपमा छलफल गरी मुलुकको चुलिँदै गएको व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकमा आर्थिक चलायमान गर्न कृषिमा आश्रित जनसङ्ख्यालाई सेवा क्षेत्रमा परिचालन गरेमा औद्योगिक उत्पादनको खपत वृद्धि हुनुका साथै उद्योग स्थापनामा स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस