इलाम-२ मा मतगणना जारी, २-२ घण्टामा मतपरिणाम अपडेट गराइने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा मतगणना जारी, २-२ घण्टामा मतपरिणाम अपडेट गराइने


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो ।

फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४ मत खसेको छ । फाकफोकथुकको गणनापछि दक्षिण इलामको चुलाचुली, माङ्सेबुङ, माई, देउमाईपछि अन्तिममा इलाम नगरपालिकाको मत गनिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। उनले सोमबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने बताए ।

मतगणनाको अपडेट दुई–दुई घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल इलाम नगरपालिकास्थित गौतम बुद्ध टाउन हलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाई नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६-६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माई नगरको ३ वडाबाट ४ हजार ६ सय ३४ मत खसेको थियो । चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरूबाट मतपेटिका सङ्कलन गरी मुचुल्का गर्दा सोमबार बिहान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस