लेखा अधिकृत नहुँदा कामकाज ठप्प, दुई वर्षदेखि दरबन्दी रिक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लेखा अधिकृत नहुँदा कामकाज ठप्प, दुई वर्षदेखि दरबन्दी रिक्त


११ बैशाख २०८१, मंगलबार


म्याग्दी । लेखा अधिकृत नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको कामकाज तीन महिनादेखि ठप्प भएको छ । 

लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक काम ठप्प बनेको हो । आर्थिक काम रोकिएपछि  प्रशासनिक काम समेत प्रभावित बनेको छ ।  कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको छ । विकास निर्माणका काम रोकिएको सेवाग्राहीको गुनासो छ । 

निर्माण व्यवसायी, आपूर्तिकर्ता र उपभोक्ता समितिले भुक्तानी पाउन सकेका छैनन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लोकसेवा आयोगमा लेखा अधिकृत माग गरिए पनि पदपूर्ति नभएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अनुरोध गर्दा लेखा शाखाको कर्मचारी नपाइएको बताए । 

“लेखा शाखामा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा माग गरेका छौँ”, उनले भने, “लोक सेवाबाट नआउँदासम्म काम फुकाउन छोटो समय र दुर्गमको कारण देखाएर आउन मानेनन् ।” गाउँपालिकामा लेखा अधिकृत र लेखापालको दरबन्दी विगत दुई वर्षदेखि रिक्त छ । 

यसअघि करिब डेढ वर्षसम्म आन्तरिक लेखापरीक्षक तिलक शङ्कर पौडेललाई लेखा शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो । आर्थिक प्रशासन नियमन गर्नुपर्ने दायित्व भएका लेखा परीक्षकलाई आर्थिक कारोबारको जिम्मेवारी दिन नमिल्ने भएपछि २०८१ फागुन २१ गतेको कार्यपालिका बैठकले पौडेललाई लेखा परीक्षकको मात्रै जिम्मेवारी दिएको छ । 

ठेक्का सम्झौता गरेका र काम सम्पन्न भइसकेका विकासे आयोजनाका भुक्तानी निर्माण व्यवसायी र उपभोक्ता समितिले पाउन सकेका छैनन् । 

चालु आव २०८०/८१ को ९ महिनामा कूल बजेटको ३० दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले लेखा अधिकृत र लेखापालको जिम्मेवारीका लागि धेरै जनालाई अनुरोध गरिए पनि आउन नमानेको  बताए । 

कूल ५० भन्दा बढीको दरबन्दी भएको धवलागिरि गाउँपालिकाको प्रशासनिक, प्राविधिक, लेखा, कृषि, भेटेरिनरी, शिक्षा शाखामा एक तिहाइभन्दा कम मात्र कर्मचारी कार्यरत छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस