काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ ।
पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको टोलीले बाँकेको नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने छ । टोलीले हिजो सल्यानमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
अनुगमन टोलीमा पूर्वमन्त्री प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य उर्मिला माझी, मैना कार्कीलगायत छन् । सल्यानमा सञ्चालित मदन भण्डारी राजमार्ग, राप्ती राजमार्गसहित कर्णाली प्रदेशमा निर्माणाधीन मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोरलगायतका सडकमा भइरहेको कामको अनुगमन गरी स्थलगत रिपोर्ट तयार गरेर विकास समिति, सम्बन्धित मन्त्री र मन्त्रालयलाई बुझाइने अनुगमन समितिका सदस्य माझीले जानकारी दिए ।
कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हुँदैमा सञ्चालित गौरवका आयोजना प्रभावित हुन नहुनेमा जोड दिएका छन् । राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा आवश्यक बजेटको स्रोतको सुनिश्चिता भए पनि सरकार फेरबदल भएपछि बोलपत्र आह्वान नभएको उनीहरूको गुनासो छ ।