पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण


१ बैशाख २०८१, शनिबार


दमौली (तनहुँ)।  तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्त्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण  पूरा भएको हो ।

 यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए । 

तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउछन् । यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा  छन् ।

 पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस