भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्ने तागत छ ? भन्दै रविलाई लिङ्देनको प्रश्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्ने तागत छ ? भन्दै रविलाई लिङ्देनको प्रश्न


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना गरेका छन् । आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनले यो दिन यादमा राखिराख्ने चेतावनी दिएका छन् ।

४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा, अश्रुग्याँसका साथै लाठीचार्ज गरेको थियो ।

थापाथली चोकमा आयोजित सभामा राप्रपा नेताहरूले गृहमन्त्रीको आलोचना गरे । अध्यक्ष लिङ्देनले गृहमन्त्रीको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताए ।

उनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्ने गृह मन्त्रीलाई आग्रह गरे । बरु उनले गृहमन्त्रीलाई चुनौती दिए, मैले भद्रकाली अगाडि उभिएर भनेको छु, यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईँले त्यो तागत राख्नुहुन्छ ?

शान्तिपूर्ण प्रदर्शन गर्न दिनुस्, निषेधित क्षेत्र हटाउनु भन्दा राज्य शक्तिको तागत देखाएको भन्दै उनले भने, निहत्था मान्छेहरूमाथि आक्रमण गरेर देखिस् म गृहमन्त्री हुँ भनेर बहादुरी देखाउने ? तपाईँका दिन पनि हेरौँला ।’

Tags :
प्रतिक्रिया दिनुहोस