नारायणगढ (चितवन) । जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरूको समन्वयमा अभियान थालिएको हो ।
अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । ‘आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । हाम्रो अभियान पालिकाका पशुलाई रोगमुक्त बनाउनु हो । ‘ उनले भने, ‘पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई खोप लगाइनेछ ।’ बाख्रालाई भने भर्खरै पिपीआर रोगविरुद्धको खोप लगाएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनले बताए ।
खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताए। अभियानलाई सफल पार्न किसानका घर गोठमा पुगेर खोप लगाइने जानकारी पनि उनले दिए ।