डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीमा रहेको कुन्तादेबी भगवतीको कालारुवा ताल संरक्षण र प्रचार प्रसारको पर्खाइमा रहेको छ ।
धार्मिक पर्यटकीय एवं ऐतिहासिक महत्त्व बोकेको वरिपरि डाँडा डाडाँघेरेको तिन वटा छहरा, दुई वटा ताल सहित रहेको कालारुवा तालको संरक्षण र प्रचार प्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीय बासी बताउँछन् ।
उच्च लेकाली भेगमा रहेको यो तालमा उचित संरक्षण हुन नसक्दा वरपरको माटो–ढुङ्गा पनि खस्न थालेपछि तालको क्षेत्रफल खुम्चिँदै गएको छ । दुई सय वर्ष अघि देखिको यो ताल बाह्रै महिना कालो रङको देखिने गरेको स्थानीय बासी उजल सिंह धामीले बताए । उनले भने यो धार्मिक महत्त्व बोकेको ताल हो यसको संरक्षण र प्रचार प्रसारमा स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक रहेको बताए ।
पर्यटकीय सम्भावना बोकेको कालारुवा ताल पहिले ठुलो थियो, पानी जमेको हेर्दा राम्रो लाग्थ्यो, अहिले बिस्तारै पुरिँदै र तालको आकार पनि घट्दै जान थालेको बताउछन् । अर्का स्थानीय बासी राम बहादुर धामी । उनी भन्छन् यो तालको महत्त्व पर्यटकीय मात्र नभई धार्मिक रूपमा पनि यसको ठुलो महत्त्व बोकेकोले यस तालको संरक्षण प्रचार प्रसारमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
कुन्तादेबी भगवतीको वासस्थानको रूपमा रहेको कालारुवा ताल धार्मिक महत्वको दृष्टिकोणले यसको बेग्लै पहिचान रहेको स्थानीय बासी बताउँछन् । पुरानो किम्बदन्ती अनुसार बाहिरबाट तालको दर्शन गर्न आउने जोकोहीहरूका लागि आफूले चाहे अनुसारको तालबाट खानेकुरा पाकेर आउने गर्थ्यो, आएको खानेकुरा खाएपछि भाँडाकुँडा सफा गरेर फिर्ता हुनुपर्ने चलनचल्ती अनुसार एक दिन एक जना साधुले चाहे अनुरूपको खानेकुरा खाई सके पछि भाँडाकुँडा सफा नगरी फर्किदा त्यसपछि खानेकुरा आउने क्रम बन्द हुन गएको पुरानो किम्बदन्ती रहेको स्थानीय बताउँछन् । कालारुवा ताल रहेको नजिक क्षेत्रमा एउटा ठुलो ओखल पनि रहेको छ । ओखलमा परापुर्बकालमा भगवती माताले धान कुट्ने गर्थिन सोही अनुरूप स्थानीय बासीहरू अहिले पनि उक्त ओखलमा धान हाल्दा धेरै फल्छ , उत्पादन राम्रो हुन्छ भन्ने किम्बदन्ती रहेको छ ।
कालारुवा ताल क्षेत्रमा कात्तिक र वैशाख महिनामा वर्षको दुई पटक पूजाआजा हुनुका साथै माघी पर्व, शिवरात्रि र गंगादशहरा पर्वको अवसरमा भव्य मेला लाग्ने गर्दछ । मेलाको समयमा यस क्षेत्रमा विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन् । यस क्षेत्रमा पूजाआजा, पाठ र दर्शन गरे घरपरिवारमा सुख शान्ति हुनुका साथै मनले चिताएको पुग्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय सरकारको पहलमा अहिले कालारुवा ताल नजिक पर्ने बेलवा गाउँसम्म कच्ची सडक निमार्ण गरिएको भए पनि सडकको स्तर उन्नति हुन सकेको छैन । कालारुवा ताल क्षेत्र अन्तरगत तालको संरक्षणका कार्य हुन नसक्दा ताल दिनानुदिन दिन जीर्ण बन्ने अवस्थामा पुगेको छ । तालको संरक्षण, प्रचार प्रसार आवश्यकता अनुसारका संरचना निमार्णको लागि स्थानीय बासीले सरकारसङ आग्रह गरेका छन् ।
बडिकेदार गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको अध्ययनसँगै पालिकाकाबाट बजेट विनियोजित गरी संरक्षण तथा प्रवर्धन गर्न पहल गरिने बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।
धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको कालारुवा तालको संरक्षण प्रचार प्रसार गर्न सके यस क्षेत्रमा पर्यटन प्रवर्द्धन हुनुका साथै यस क्षेत्रको समग्र पक्षको विकासमा सहयोग पुग्ने देखिन्छ ।


