काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानून बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुईँ मान्छेहरूले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई देखाएर समग्र सहकारी अभियान कमजोर बनाउने गरी हमला भइरहेमनि प्रयास सफल नहुने उनले बताए ।
‘यो कुनै शासनले ल्याएको अभियान होइन । गरिब जनताले, सीमान्तकृत जनताले एक ठाउँमा बसेर आफ्नै उन्नतिका निम्ति, देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य बोकेर सुरु भएको हो । बेला-बेलामा सहकारी आन्दोलनमाथि विभिन्न हमला हुन्छ । तर डराउनुपर्दैन । यो क्षेत्रलाई कुनै कमी-कमजोरी छन् भने सच्याउनुपर्छ’, उनले भने ।
सुशासन कायम गर्न सहकारीका प्रत्येक सदस्य प्रतिबद्ध हुनुपर्ने उनले बताए । ‘सहकारीले मानिसको जीवनमा परिवर्तन ल्याएर देशको समग्र अर्थतन्त्रलाई परिवर्तन गर्न सक्छ । तर यसका सदस्यहरू सुशासनमा प्रतिबद्ध हुनपर्छ’, उनले भने, ‘केही सञ्चालकहरूले प्लटिङ, हाउजिङ, ठूला कारोबारलगायत नियम र मर्म विपरीतका काम गरेर सहकारी डुबाइरहेका छन् । यस्तालाई कानूनी दायरामा ल्याउनुपर्छ ।’
केही समूहहरू जनता भड्काएर अराजकता फैलाउन उद्धत रहेकाले उनीहरूबाट पनि सतर्क रहनुपर्ने मन्त्री गिरीले बताए ।