नौ महिनासम्म पनि भएन गाउँ सभा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नौ महिनासम्म पनि भएन गाउँ सभा


१८ चैत्र २०८०, आइतबार


सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको गाउँ सभा हुन सकेको छैन । असार मसान्तमै हुनुपर्ने गाउँ सभा आर्थिक वर्ष सुरु भएको नौ महिना बितिसक्दा पनि हुन नसकेको हो ।

जनप्रतिनिधिबिचको विवादका कारण गाउँ सभा अनिश्चित बनेको हो । गाउँ सभाबाट बजेट पारित नहुँदा गत साउनदेखि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । जसका कारण वृद्धवृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्ति मारमा परेका छन् । 

गाउँ सभा गर्ने विषयमा निर्णय लिन आइतबार कार्यपालिकाको बैठक बसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । चन्द्रनगर गाउँपालिकामा १५ सदस्यीय कार्यपालिका छ । त्यसमध्ये अध्यक्ष महतोसँग अन्य दुई जना सदस्य छन् भने उपाध्यक्ष  गीता देवी महतोसँग अन्य १२ जना कार्यपालिका सदस्य छन् । 

अध्यक्ष काँग्रेसबाट निर्वाचित भएका हुन् । उनलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यले नै साथ दिएका छैनन् । उपाध्यक्ष महतोलाई माओवादी केन्द्रसहित लोसपा र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहितका बहुमत सदस्यले साथ दिएका छन् । अल्पमतमा रहेका गाउँपालिका अध्यक्ष महतोले गत असारमै गाउँ सभा बोलाएर बजेट पारित गर्ने प्रयास गरे पनि उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य सभामा सहभागी नै भएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस