विपन्न महिलाको मिटरब्याज ऋण मिनाहा गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विपन्न महिलाको मिटरब्याज ऋण मिनाहा गरिने


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरूको मिटर ब्याजलगायतका ऋणहरू मिनाहा गर्ने कार्यक्रम ल्याउने बताएकी छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वडास्तरबाट विपन्न महिलाहरूको पहिचान गरी उनीहरूको मिटरब्याजलगायतका ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताएकी हुन् ।

‘अति विपन्न महिलाहरूको लागि चाहिँ वडास्तरबाटै मिटरब्याज लगायतका कुराहरू आउँछन् । ती ऋणहरू मिनाहा गरिदिने कुराहरू आउँछन् । राज्यले नै त्यस्ता कुराहरू गर्‍यो भने महिलाहरू अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु’, मन्त्री चौधरीले भनिन् ।

उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सक्ने स्थिति नभएको पनि बताइन् । मन्त्री चौधरीले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला मन्त्रालयको लागि बजेट बढाउन प्रधानमन्त्री पनि सकारात्मक रहेको धारणा राखिन् ।

मन्त्री चौधरीले महिलाहरूको सशक्तीकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस