चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ)का लागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा लाभ लिन सक्ने बताएका छन् । 

चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बिएफए) लाई बिहीबार सम्बोधन गर्दै उनले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ)अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिन सक्ने बताएको उनको सचिवालयले जनाएको छ । 

उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी पनि दिए ।

जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानव जातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन् ।”

पूर्वअर्थमन्त्री पौडेलले भने, “चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ । हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्ने गरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ ।”

जिडिआइको दिगो र समतामूलक विकासका लक्ष हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरू स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तनलाई भने दूर गर्न जरुरी रहेको बताए । 

त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उनको धारणा थियो । 

नेपालले बहुपक्षीयतालाई महत्त्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, “हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवर्द्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ । विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त रहेको छ ।”

बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्त्वपूर्ण अवसर दिएको उनको भनाइ छ । यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस