अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थ सिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए । नेकपा (एमाले) झापाको ११ औँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

समीकरणमा सामेल दलहरूले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उनले स्मरण गराए । उनले यसअघि नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे ।

उनले एमाले र काँग्रेसबिच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुवै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।”

उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए । विसं २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पारे । काँग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस