काँग्रेसमा खुसी ल्याउन आवश्यक छ : गगन थापा   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसमा खुसी ल्याउन आवश्यक छ : गगन थापा  


१५ चैत्र २०८०, बिहिबार


नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन्। पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उनले नेपाली काँग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्छ भनेका हुन् । 

उनले नेपाली काँग्रेस पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राखे । 

“यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसियाली आउँदैन”, उनको भनाइ थियो । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उनको तर्क थियो । 

पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उनले बताए । जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उनले आउने संसदीय निर्वाचनमा नेपाली काँग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिए । उनले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको सुरुआत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस