सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम


१० चैत्र २०८०, शनिबार


धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई  तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले  ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो ।

गाउँपालिकाको सुन्तला प्रवर्द्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसूदन दाहालले बताए ।  कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए । 

 सुन्तलाका बोट सुक्ने, मर्ने तथा  भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको बेथानचोक गाउँपालिका वडा नं। ४ का अध्यक्ष कृष्णबहादुर लामाले बताए । 

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसूदन दाहालले बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिए । 

सुन्तला खेतीका लागि बेथानचोकको वडा नं.४ र आसपासका क्षेत्र उर्वर भएकाले किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तालिमको व्यवस्था गरिएको हो । पालिकाले सो क्षेत्रमा किसानलाई प्रोत्साहनस्वरुप पाँच हजार उन्नत जातका बिरुवा बाँड्ने योजना बनाएको जनाइएको छ । यो वर्ष यहाँका किसानले रु दुई करोडभन्दा बढीको सुन्तला बेचेका थिए ।  धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले, सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ सुन्तला उत्पादनका निम्ति प्रसिद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस