कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएपछि परीक्षा रद्द  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएपछि परीक्षा रद्द 


९ चैत्र २०८०, शुक्रबार


मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ ।

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।

कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो ।

बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ । परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेपछि विषयसूची भन्दा बाहिरको भएपछि प्रश्नपत्र फिर्ता गरिएको विद्यार्थीको भनाइ छ ।

रद्द भएको परीक्षा यही चैत १० गते शनिबार हुने नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताए । उनले कक्षा ५ र ८ को परीक्षा नगरपालिकाले सञ्चालन गरे पनि अन्य कक्षाको परीक्षा समितिले गरेको बताए ।

उनले भने, ‘प्रश्नपत्र त्रुटि भएको विषयमा समितिलाई राय पेस गर्न भनेका छौँ।’ तयार भएको प्रश्नपत्र छपाइमा प्राविधिक त्रुटि भएको समितिका सदस्य नरेन्द्र घिसिङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस