ब्याट-३६ का शाखा अधिकृतद्वारा बृद्धबृद्धा तथा असहाय कल्याण आश्रमलाई एक लाख ३० हजार प्रदान  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ब्याट-३६ का शाखा अधिकृतद्वारा बृद्धबृद्धा तथा असहाय कल्याण आश्रमलाई एक लाख ३० हजार प्रदान 


७ चैत्र २०८०, बुधबार


ठोरी(पर्सा) । नेपाल सरकारका शाखा अधिकृत ब्याट-३६ ले बृद्धबृद्धा तथा असहाय कल्याण आश्रम, भगवान नगरलाई एक लाख ३० हजार एक सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको छ। 

पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा समाज कल्याण कार्यक्रम अन्तरगत ब्याट-३६ शाखा अधिकृतको तर्फबाट कोष तथा लेखा नियन्त्रण कार्यालय, पर्साकी लेखा अधिकृत मनीषा कुमारीले आश्रमका संस्थापक सञ्चालक आश बहादुर गुरुङलाई हस्तान्तरण गरेकी हुन् । 

ठोरी गाउँपालिका वार्ड नं १ का वडाध्यक्ष धनमान थापा मगर र स्थानीय बम्हापुरी आधारभूत विद्यालयका शिक्षक सूर्य बहादुर खड्काको आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच वितरण गरिएको रकम ब्याटका लेखा अधिकृत पेशल कुमार वाग्लेले सङ्कलन गरेको जनाइएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लेखा अधिकृत तेज प्रकाश भण्डारीले सहजिकरण गरेको कार्यक्रममा शाखा अधिकृतहरू राजन पाण्डे, पुरुषोत्तम बराल र स्थानीय युवा मिलन खड्काको सहभागिता रहेको थियो । सुगम स्थानमा रहेका असहाय आश्रममा सबै दाताको ध्यान पुग्ने गरेको तर दुर्गम ठाउँका आश्रममा कसैको पनि ध्यान नपुग्ने भएकोले आफुहरुले सबैको ध्यानाकर्षण गर्नका लागि सहयोग गरेको अधिकृतहरूको भनाई छ । 

वृद्ध वृद्धा तथा असहाय कल्याण आश्रम पर्सा जिल्लाको दुर्गम ठोरी गाउँपालिका वडा न १ को बिकट गाउँ भगवाननगरमा रहेको छ। यो आश्रमका संस्थापक तथा सञ्चालक आश बहादुर गुरुङ रहेका छन् । ७८ वर्षीय स्थानीय समाजसेवी गुरुङ सेवा निवृत्त भारतीय सेना हुन् । 

आफूले पाउने पेन्सनबाट आश्रम व्यवस्थापन गर्दै आएका गुरुङले श्रोत अपुग रहेको बताए । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका ३७ जना अशक्त, असहाय तथा जेष्ठनागरिकहरु आश्रित रहेका छन् । राज्य संयन्त्रबाट नियमित सहयोग नहुँदा आश्रम सञ्चालन गर्न कठिनाई हुने गरेको बताउँदै सञ्चालक गुरुङले सहयोगी हातहरूप्रति सम्मान व्यक्त गर्दै सहयोगले थप ऊर्जा मिलेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस