काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
मंगलबार मात्र दलहरूको साझा संकल्पपत्र जारी भएको भन्दै यसको प्रमुख लक्ष्यसमेत अर्थतन्त्र चलायमान बनाउनु नै भएको बताए ।
आगामी बजेट संकल्पपत्र कार्यान्वयनमा केन्द्रित हुने उनले बताए । मिटरब्याजी, सहकारी र लघुवित्त समस्या समाधानमा पहल सुरु भइसकेको उनले बताए ।
युवा पलायनमा सरकारको ध्यानाकर्षण भएको भन्दै उनले अर्थतन्त्रको प्रमुख समस्या नै रोजगारी अभाव भएको बताए । यसले आयात बढिरहेको र युवा विदेश पलायन भइरहेको समेत बताए ।
‘उत्पादन र रोजगारी बढाउनेमा सरकारको ध्यान जाने छ,’ उनले भने, ‘अहिले नै कार्यक्रम डिजाइनको काम सुरु भएको छ ।’
विगतमा विनियोजन सन्तुलित हुन नसकेको, सार्वजनिक ऋण बढेको गुनासो सांसदहरूले गरेको भन्दै उनले बजेटमा विगतमा पर्याप्त छलफल हुन नसकेको समस्यालाई यसपालि समाधान गरिएको बताए ।
प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार कानुन संशोधन गरी नयाँ बजेट क्यालेन्डर निर्माण गरिएको उनले बताए ।