संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन 


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

फागुन १४ मा बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेका थिए । सोही घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । 

उक्त समितिले कमजोर ‘सूचना संयन्त्र’का कारण अति संवेदनशील क्षेत्रमा लघुवित्तका ऋणीहरू प्रवेश गर्न सफल भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिका सदस्यहरूले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य थिए । 

समितिले जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन गर्ने संयन्त्र ‘चुस्त’ नबनाएको कारण घटना भएको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने जिल्ला सुरक्षा समितिमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुन्छ । समितिको रिपोर्टमा भनिएको छ,‘जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन चुस्त बनाएको देखिएन ।’

घटना भएको दिन धेरैतिर प्रहरी परिचालन गर्नुपरेको हुनाले पनि सो घटना भएको छानबिन समितिको ठहर छ । घटना भएकै दिनमा क्रिकेट प्रतियोगिता, मिटरब्याज पीडितहरूको प्रदर्शन, भीआईपी तथा भीभीआईपी मुभमेन्टका कारण सुरक्षा निकायले त्यसतर्फ ध्यान दिन नपाएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस