माओवादीले स्थगित गर्‍यो पूर्वनिर्धारित दुई अभियान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले स्थगित गर्‍यो पूर्वनिर्धारित दुई अभियान


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टीको विधान अधिवेशनले तय गरेको तराई-मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल-पहाड-तराई-मधेस राष्ट्रिय एकता अभियानका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै दुवै अभियान स्थगित गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गतेसम्म तराई मधेस जागरण अभियान सञ्चालन हुने भनिएकोमा स्थायी कमिटीले चैत १५ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसैगरी दोस्रो चरणमा हिमाल-पहाड-तराई-मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन हुने भनिएको थियो ।

यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने भन्दै माओवादीले सो कार्यक्रम अघि सारेपनि अन्तिम समयमा आएर स्थगित गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस