महिला टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्यास « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महिला टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्यास


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षीय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’

बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो । त्यो नै महिला सिनियर क्रिकेट टिमले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

नेरीको कप्तानीमा यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । 

उनले तत्कालीन क्षेत्र नम्बर ५ बाट खेल्दै काठमाडौँविरुद्ध शतक बनाएकी थिइन् । २०७० सालमा शतक बनाउँदा उनले काठमाडौँविरुद्ध १२१ रन जोडेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस